काठमाडौं । नेपाली क्रिकेट टिमका सन्दीप लामिछाने, कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० क्यानडा लिगमा अनुबन्ध भएका छन् । सन्दीप र दीपेन्द्र भ्यानकुभर नाइट्स र रोहित टोरन्टो नेसन्समा अनुबन्ध भएका हुन्।
सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलो पटक यो लिग खेल्ने भएका हुन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए । उनी सम्मिलित जग्वार्स गत सिजनमा उपविजेता भएको थियो । ऊ फाइनलमा दीपेन्द्र आबद्ध मोन्ट्रेल टाइगर्ससँग ५ विकेटले पराजित भयो ।
यस पटक सन्दीप र दीपेन्द्र अनुबन्धित भ्यानकुभर नाइट्समा पाकिस्तानका बाबर आजम, आसिफ अली, मोहम्मद आमिर, दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसलगायत नाम चलेका खेलाडी छन् ।
यस्तै, रोहित सम्मिलित टोरन्टो नेसन्समा पाकिस्तानका शाहीन साह अफ्रिदी र मोहम्मद नवाज, न्यूजिल्याण्डका कोलिन मुनरो, वेस्ट इण्डिजका रोमारियो सेफर्ड, दक्षिण अफ्रिकाका रस्सी भानडर दुसेनलगायत स्टार छन् । पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता खेल्न लागेका रोहितले १२ हजार ५ सय अमेरिकी डलर अर्थात् १६ लाख ६६ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । उनलाई टोरन्टोले राउन्ड इलाभेनबाट अनुबन्ध गरेको हो ।
यस्तै, भ्यानकुभरमा जोडिएका दीपेन्द्रले १७ हजार ५ सय डलर अर्थात् २३ लाख ३३ हजार रुपैयाँ तलब पाउने छन् । उनी राउन्ड नाइनमा बिक्री भएका थिए । त्यस्तै, भ्यानकुभरमै आबद्ध सन्दीपले ३० हजार अमेरिकी डलर अर्थात् ३९ लाख ९९ हजार रुपैयाँ पारिश्रमिक पाउने आयोजकले जनाएको छ । उनी राउन्ड एटबाट अनुबन्ध भएका हुन् ।
सन्दीपले गत सिजनको ग्लोबल टी–२० मा ५.१७ को उत्कृष्ट इकोनमीमा ११ विकेट लिए । उनी उक्त सिजनमा सर्वाधिक विकेट लिने मामलामा पाँचौं स्थानमा रहे । सन्दीपको उत्कृष्ट प्रदर्शनको मद्दतमा पनि जग्वार्सलाई फाइनल पुग्न सहज भयो । यस्तै, उनले ग्लोबल टी–२० को डेब्यू सिजन अर्थात् २०१८ मा ५ खेलमा ७.८५ को इकोनमीमा ८ विकेट लिए । सन् २०१९ को सिजनमा भने सन्दीपले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । उक्त सिजनमा उनले ४ खेलमा ८.७३ को इकोनमीमा ५ विकेट मात्र लिए । यस्तै, दीपेन्द्रले आफ्नो पहिलो सिजनमा गत वर्ष ६ इनिङ्समा १४३ रन बनाए ।
उनले बलिङतर्फ तीन इनिङ्समा २ विकेट लिए । दीपेन्द्र अनुबन्ध भएको सिजनमा मोन्ट्रियलले उपाधि जित्न सफल भयो । ग्लोबल टी–२० क्यानडा लिगको चौथो सिजन आउँदो २५ जुलाईदेखि ११ अगस्टसम्म आयोजना हुनेछ ।
