गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

८ असार २०८१, शुक्रबार ०८:३८

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइ हुने भएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइका क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो ।

इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छन्।

महान्यायधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए ।

उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।

रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो ।