काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन भनेका छन्।
आइतबार (आज) सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन् । यस्तै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको पनि स्पष्ट पारेका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको त्यस्तै “काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगरपालिकाले गर्दैन।”
