काठमाडौं । सरकारले टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताएको छ ।
आज (बिहीबार) सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताइन् ।
मन्त्री शर्माले नेपालको कानुनी व्यवस्थाका आधारमा दर्ता भइ सञ्चालन भए टिकटकप्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन् ।
उनले बुधबारमात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको र नेपालको नियम कानुनअनुसार चल्नुपर्नेमा जोड दिएको धारणा राखिन् ।
आगामी मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसदमा पठाउने र त्यसपछि बृहत् छलफल गर्दै यसलाई पारित गर्ने उनले जानकारी दिइन् ।
उनले नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको पनि बताइन् ।
