एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित

३१ जेष्ठ २०८१, बिहीबार ०८:४६

काठमाडौं। नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् ।

बुधबार सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्ष पदमा भुर्तेल निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्याशी रहेका चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे। यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए ।

पदाधिकारीमा भुर्तेलको प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार निर्वाचित भएका छन् ।

लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव (महिला) मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए । विद्युतीय मतदानमा ६८६ जना प्रतिनिधि मध्ये ६७९ ले मतदान गरेका थिए भने ७ जना उपस्थित भएनन् ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर प्रतिस्पर्धा नगर्न निर्देशन दिएपनि अध्यक्षका दुबै उम्मेदवारले टिम खडा गरेका थिए ।