गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति होइन: छत्र गिरी

३० जेष्ठ २०८१, बुधबार ११:३४

काठमाडौं । गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन्।

बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी प्रयोग भएको भाष्यप्रति आपत्ति प्रकट गरे।

पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको उनले बतएका छन्।

छत्र गिरीले भने, ’जहाँ पनि गिरीबन्धुको चर्चा चल्न थालेपछि मानिसहरूमा यो राज्यको सम्पत्ति हो कि भन्ने परेको छ। तर म तपाईंहरूमार्फत सबैमा भन्न चाहन्छु, यो राज्यको सम्पत्ति होइन।’

उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरे। २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीले बताए। हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए।

सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए। एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसंगको सहकार्यमा जग्गाको कारोबार सुरु गरेको गिरीले स्वीकार गरेका छन्। दिपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसंग जग्गा विषयमा कारोबार भएको उनले स्वीकार गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदमा जग्गा सट्टापट्टाको फाइल पुगेको र त्यस्को निकासका लागि मन्त्रिपरिषदले निर्णय गरेको उनको भनाइ छ।