नेपाल र श्रीलङ्काको खेल रद्द, दक्षिण अफ्रिका ‘सुपर–८’ मा

३० जेष्ठ २०८१, बुधबार ०८:०९

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।

विश्वकपअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो ।

समूहगत चरणको अन्तिम खेल खेल्नुअघि नै दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगेको हो । समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीनवटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

दुई खेल खेलेको बङ्गलादेश दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छन् ।

दुई खेल खेलेको नेपाल भने एक अङ्कसहित तालिकाको चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्काले पनि एक अङ्कमात्र बटुल्न सकेको छ ।

समूह ‘डी’ को बाँकी खेलमा अब बङ्गलादेशले नेदरल्यान्ड्स, नेपालले दक्षिण अफ्रिका, बङ्गलादेशले नेपाल र नेदरल्यान्ड्सले श्रीलङ्काको सामना गर्नेछन् । उक्त समूहमा अब बङ्गलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको मात्र ६ अङ्क पुग्न सक्ने सम्भावना छ ।

यसअघि नै तीन खेलबाट ६ अङ्क बटुलिसकेको दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगेको हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले, दोस्रो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले र तेस्रो खेलमा बंगलादेशलाई चार रनले हराएको थियो ।