राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमणमा जाँदै

२९ जेष्ठ २०८१, मंगलवार ०७:४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमणमा जाँदै छन् । उनी (आज) मङ्गलबार स्विट्जरल्यान्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले जेनेभामा हुन लागेको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्र अन्तर्गत आयोजना हुने ‘ग्लोबल कोलिसन फर सोसल जस्टिस फोरम’ को उद्घाटन समारोहमा भाग लिने मन्त्रालयले जनाएको छ । उनले बिहीबार सो कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

बुधबार उनले स्विट्जरल्यान्डका राष्ट्रपति भियोला अमहर्दसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । जेनेभाको भ्रमणलगत्तै शनिबार राष्ट्रपति पौडेल जर्मनीको भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेमियरको औपचारिक निमन्त्रणामा जर्मन भ्रमणमा जान लागेका हुन्।

उक्त भ्रमणका क्रममा दुई राष्ट्रपतिबिच अर्को सोमबार औपचारिक वार्ता हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलका साथमा उनकी धर्मपत्नी सविता पौडेल, राष्ट्रपति पौडेलका परराष्ट्र मामिलाविज्ञ सल्लाहकार डा. सुरेशचन्द्र चालिसे तथा राष्ट्रपति कार्यालयका सचिव तथा परराष्ट्र सचिवलगायतका उच्चाधिकारी जादै छन् ।

राष्ट्रपति पौडेल असार ५ गते बुधबार स्वेदश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।