काठमाडौं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
आइतबार (आज) विहान सभामुख देवराज घिमिरे निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी गराए।
आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । अब २९ गते देखि उक्त विधेयकमाथि नियमित छलफल हुने अधिकारीले बताए ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको बताइएको छ।
सभामुख घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।
