काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताएका छन्।
ओलीले आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै राजनीतिक अस्थिरतामा रमाउनु भन्दा स्थिरता कायम गरेर अघि बढ्नु राम्रो हुने बताए।
उनले भने, “सात प्रदेश र केन्द्रमा कसैको पनि बहुमत छैन, यसले अस्थिरता जन्माउँछ। यस स्थितिमा कोही पनि रमाउने र खुसी हुने कुरा छैन । संवैधानिक र कानुनी व्यवस्थाका कारण कोही कसैको पनि बहुमत आउने स्थिति छैन, यसर्थ राष्ट्रिय दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।”
ओलीले राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताएका छन् । उनले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए।वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी भएको र यसलाई भत्काउन नदिने उनले बताए।
अहिलेको समीकरण टुट्यो भने देशमा राम्रो नहुने भएको कारण समीकरण भत्किन नदिने ओलीले बताए ।
