सहकारी प्रकरणमा छानबिन गर्न गठित समितिको बैठक सिंहदरबारमा बस्दै

२५ जेष्ठ २०८१, शुक्रबार ०९:१५

काठमाडौं । सहकारी संस्थामा भएको ठगीका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्ने भएको छ । आज सिंहदरबारमा बैठक दिउँसो ३ बजे बस्ने भएको हो । उक्त बैठकमा कार्यविधिलगायतका विषयमा छलफल हुने समिति संयोजक सूर्य थापाले बताएका छन् ।

गत बुधबार बसेको समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा पेस गर्न समिति सचिवालयलाई आजसम्मको समयसिमा तोकेको थियो । सचिवालयले पेश गर्ने कार्यविधि लगायतमा आज छलफल हुने संयोजक थापाले बताए ।

गत जेठ १५ गते सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न का लागि प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । उक्त समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय रहेको छ ।