सन्दीप विश्वकप खेल्न नपाउनुमा सरकार चुकेको विश्वप्रकाशको दावी

२४ जेष्ठ २०८१, बिहीबार १३:२८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सन्दीप लामिछानेले आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा अदालतले निर्दोष साबित गरेपछि पनि सन्दीप विश्वकप खेल्न नपाउनुमा सरकार चुकेको सांसद शर्माले बताएका छन्।

सांसद शर्माले सन्दीपलाई समयमै भिसाको वातावरण बनाउन किन नसकिएको भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन्। उनले भने, ‘हिजो आरोप लागिरहेको बेला मैदानमा उत्रिन हुन्न भन्ने थियो, अदालतले निर्दोष साबित गरेपछि यसबेला सन्दीप विश्वकपमा खेल्नु पर्थ्यो, आफ्नो खेलाडीबारे अदालतको फैसला सूचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले समयमै उचित पहल गर्नु पर्दथ्यो । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अदालतले सन्दीपलाई निर्दोष साबित गरेपछि अमेरिकाले भिसा नदिदाँ उनी विश्वकप खेल्नबाट वञ्चित भएका हुन् । दुईपटक अन्तर्वार्ता लिँदा पनि अमेरिकी दूतावासले उनलाई भिसा नदिएको हो । भिसा नदिनुको कारण भने दूतावासले खुलाएको छैन ।