पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, कतिमा कारोबार हुदै ?

१९ जेष्ठ २०८१, शनिबार ११:३२

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज पेट्रोलमा प्रतिलिटर रु. ३ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु. १ ले घटाएको हो ।

निगमद्वारा जारी प्रेस विज्ञप्तिमा गए राति देखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । मूल्य घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु १५३ रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु १५२ रहेको छ ।

यस्तै पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५० रुपैयाँ ५० पैसा पर्नेछ ।