गएरातिको वर्षाले महावीर पुन घाटामा

१३ जेष्ठ २०८१, आईतवार ०९:५९

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफूलाई गएरातिको वर्षाले नोक्सान भएको बताएका छन् ।

शनिबार राति परेको पानीले उनका ३ सय पुस्तक भिजाइदिएको र पुस्तक राखिएका ४२ वटा कार्टुन गाडीको त्रिपाल चुहेर पानीमा चुर्लुम्म डुबेको समेत पुनले बताएका छन् ।

भिडियोमा उनले भने, ‘व्यापार गर्न सजिलो छैन, आज राति वर्षा भएको रहेछ, हामीले थाहा पाएनौँ । गाडीको त्रिपाल चुहिएर ४२ वटा बक्सा पानीमा चुर्लुम्म डुबेका छन् । ‘जिन्दगीमा यस्तोयस्तो पनि बेहोर्नुपर्छ भन्ने कुरा आज थाहा पाइयो ।’

पुनले आफूले लेखेको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेच्न केही महिनादेखि उनी देशभरि हिडिरहेका छन् । २८ असोजमा उनले लेखेको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ सार्वजनिक गरिएको थियो । यसै वर्ष प्रकाशित उनको पुस्तक व्यापारिक दृष्टिले बजारमा नाम चलेका लेखक वा प्रकाशकलाई माथ खुवाउने गरी बिकेको छ ।

आफ्नो जीवनी पुस्तक बेचेर प्राप्त आम्दानीले वीरगञ्जस्थित कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने उनको घोषणा छ । २०५९ सालदेखि बन्द अवस्थामा रहेको कारखाना उनकै पहलमा गत वर्षदेखि सञ्चालनमा आएको छ ।