आज देखि जेठ १२ सम्म वीरगञ्ज भन्सारनाका बन्द

१० जेष्ठ २०८१, बिहीबार १०:३६

काठमाडौं । भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते लोक सभाको निर्वाचन हुने भएका कारण नाका बन्द गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार वीरगञ्ज भन्सार कार्यालय सहितका पर्साको सीमानाका आज बिहान ६ बजेदेखि बन्द गरिएको छ। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

उनले भने, “दुई मुलुक मध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टा अगावै सीमानाका बन्द गर्ने परम्परा अनुसार नै नाका बन्द भएको हो।”

पर्सा जिल्लाको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। भारतमा छैटौं चरणको चुनाव हुँदै छ। लोक सभाका ५४३ मध्ये अहिलेसम्म पाँच चरणमा ४२८ सीटका लागि मतदान भइसकेको छ। अब ११५ सीटका लागि चुनाव हुन बाँकी छ।