आलु र प्याजमा लगाएको भ्याट फिर्ता गर्न आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले माग

१ जेष्ठ २०८१, मंगलवार २०:०१

काठमाडौं । आलु र प्याजमा लगाएको भ्याट फिर्ता गर्न आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले माग गरेको छ ।

आज (मंगलबार) जेठ १ गते उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाले ज्ञापन पत्र बुझाउँदै आलु प्याजमा लागेको भ्याट फिर्ता गर्न माग गरेका हुन् ।

संघले दोस्रो र तेस्रो मुलुकबाट आलु प्याज आयात गरी नेपालमा थोक बिक्रि वितरण गर्दै आएको छ । आलु प्याज आयात निर्यातमा भ्याट लगाउदा उपभोक्तालाई असर परेको जनाएको छ ।

आलु, प्याज हालसम्म मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह क (आधारभूत कृषि उत्पादनहरु) अन्तर्गत मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरु अन्तर्गत समावेश हुँदै आएको थियो ।

तर, गत साउन १ गतेदेखि लागू भएको आर्थिक ऐन, २०८० को दफा ४२ अन्तर्गत मूल्य अभिवृद्धि कर ऐन, २०५२ को संशोधन बमोजिम आलु तथा प्याज मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ मा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरु अन्तर्गत समावेश गरिएको छैन ।

तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले आलु प्याजमा भ्याट लगाएका थिए । व्यवसायीले हाल पनि कृषि सेवा शुल्क प्रतिशत र अग्रिम आयकर १.५ प्रतिशत गरी १०.५ प्रतिशत रकम कर राजस्व बुझाउँदै आएका थिए । उक्त कर रकममा थप १३ प्रतिशत मूअ करको भार थप्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढेको छ ।