काममा कुनै कमजोरी देखिए सम्बन्धित उपभोक्ता समितिको भुक्तानी रोकिनेछ: प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी

३० बैशाख २०८१, आईतवार २१:५२

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विकास निर्माणमा हुने अनियमितता र बेरुजु रोक्न उपभोक्ता समितिमा लगाम कस्ने कार्य अघि बढाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीले समिति मार्फत हुने विकास निर्माणको कार्यमा पेश्की दिइने प्रक्रियामा रोकेको बताए ।

उनले भने, “उपभोक्ता समितिले १० प्रतिशत रकम जम्मा गर्ने र ३३ प्रतिशत रकम पेश्की लिने रहेको परम्परालाई तोडेर अब चाहि पेश्की दिने व्यवस्था खारिज गरिएको छ । अब रनिङ्ग बिलमा ७० प्रतिशत भुक्तानी दिने र काम सम्पन्न भएपछि निरिक्षण पश्चात मात्रै पूर्ण भुक्तानी गरिने प्रक्रिया अघि बढाइएको छ । अधिकृत पन्थीले अबदेखि काले पत्रे, कल्भर्ट, वडा कार्यालयको भवन निर्माण र स्वास्थ्य कार्यालय बनाउने लगायतको निर्माण कार्य उपभोक्ता सडक समिति मार्फत नभई टेण्डरबाट ठेक्का प्रक्रियाको माध्यमबाट गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले भने ठूला बजेटका यी निर्माण कार्य उपभोक्ता समिति मार्फत बनाउंदा बढी अनियमितता हुने, कमसल काम हुने लगायतका समस्या आउने गरेको कारणले आफूले त्यसमा कडाई गरेको छु ।”

बेरुजु अवस्था नियन्त्रण गर्न थप आर्थिक रणनीति तयार पारिएको उनले बताए । उनले भने, “कामको गुणस्तरीयता कायम गर्न र बेरुजु रोक्न आफै निर्माण कार्यको अनुगमन गरी मात्र भुक्तानी दिनेछु । काममा कुनै कमजोरी देखिए सम्बन्धित उपभोक्ता समितिको भुक्तानी रोकिनेछ। पन्थीले भने आफू पैसा कमाउन होइन जनताको सेवा गर्न यहाँ आएको छु। माता जानकीको ठाउँमा आफूलाई काम गर्नबाट कुनै समस्या भए झोला बोकेर काठमाडौ हिंडदिन्छौं । तर अनियमितता हुन दिन्न ।”

महालेखा परिक्षक कार्यालयले आर्थिक वर्ष २०७९\०८० को सार्वजनिक गरेको प्रारम्भिक लेखा प्रतिवेदनमा जनकपुरधाम उपमहानगरपालिकाको देखिएको बेरुजुको चाङ्ग रोक्न अधिकृत पन्थी उपभोक्ता समितिले गर्ने कार्यमा कसी कसेका छन् कर्मचारीलाई ड्रेसमा समयमै कार्यालयमा उपस्थित हुनुपर्ने, सेवाग्राहीलाई कुनै समस्या भएआफूसँग बिना कुनै हिचकिचाहट समस्या राख्न पाउने वातावरण बनाइएको उनले बताए ।