एमाले सर्लाहीले नवौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक, के छ त नारा ?

२५ बैशाख २०८१, मंगलवार १४:२७

काठमाडौं । नेकपा एमाले सर्लाहीले नवौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

(हिजो) मङ्गलबार नवलपुरमा पत्रकार सम्मेलन गरी चार दिनपछि सदरमुकाम मलङ्गवामा हुन लागेको जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको हो । जिल्ला अधिवेशनको लोगोमा राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राखेर जिल्लाको मुख्य आकर्षण र महत्त्वपूर्ण प्राकृतिक ताल नाढीमन तालको पुनः उत्थान गरिनुपर्ने सन्देश दिइएको छ ।

त्यस्तै मधेशको शिर मानिने जिल्लाको उत्तरी चुरेक्षेत्रको संरक्षण, जिल्लाको मुख्य उत्पादन उखु र गोलभेँडाको महत्त्व लोगोमा झल्काइएको लोगो तथा नारा तयारी उपसमितिका संयोजक चूडामणि वाग्लेले जानकारी दिनुभयो । त्यसैगरी अधिवेशनको नारा “जवजको मुल मार्गः समृद्धिको यात्रा, सीमादेखि चुरेसम्म एमालेको झण्डा ” भन्ने तय गरिएको छ ।

यस नाराले जनताको बहुदलीय जनवादको मुख्य बाटोमा सर्लाहीको समृद्धि, विकास र हित प्रवद्र्धन भएको र नेकपा एमालेको प्रभाव सीमा क्षेत्रदेखि उत्तरी चुरेसम्म उस्तै उर्वर रहेको सन्देश दिने एमाले सर्लाहीले जनाएको छ । लोगो तथा नारा सार्वजनिक गर्दै एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आफूहरु जिल्ला अधिवेशनलाई भव्य बनाउन लागि परेको बताएका छन्।

एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन वैशाख ३० गते सदरमुकाम मलङ्गवामा सुरु हुँदै छ । अधिवेशनको मलङ्गवास्थित विश्वकर्मा चोकमा रहेको गोखुलराम साहको दुई बिघाको आँप बगैैँचामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि वैशाख ३१ गते मलङ्गवास्थित कुसुम पार्टी प्यालेसमा बन्द सत्र सुरु हुने छ । जेठ १ गते दिनभर सर्वसम्मतिको प्रयास गरिने र सहमति जुट्न नसके जेठ २ गते मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।

जिल्ला अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसङ्गठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना गरी ६१० जना र आयोजक कमिटीले मनोनित गर्ने ५ प्रतिशत मनोनित ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६४२ जना प्रतिनिधिले अधिवेशनको बन्द सत्र र निर्वाचन प्रक्रियामा भाग लिने छन् ।

अधिवेशनलाई सफल पार्न विभिन्न समिति, उपसमिति र कार्यदल गठन गरी तयारीको काम भइरहेको आर्थिक समितिका संयोजक एवं एमाले नेता रेवती पन्तले बताए ।