रेसुङ्गा विमानस्थलमा हप्ताको चार उडान हुने

२४ बैशाख २०८१, सोमबार १३:२६

काठमाडौं । रेसुङ्गा विमानस्थलमा हप्ताको चार उडान हुने भएको छ । हाल हप्तामा तीन पटक मात्रै उडान हुँदै आएकोमा यही वैशाख २९ गतेदेखि हप्तामा चार पटक उडान हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलनमार्फत रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले यात्रुको चापलाई मध्यनजर गर्दै अब हप्ताको चार पटक उडान हुने व्यवस्था मिलाइएको बताए। उनका अनुसार प्रत्येक हप्ताको सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान हुने भएको हो ।

यात्रुको चाप बढ्दै गएको र प्लेन टिकट अझै सर्वसाधारणको पहुँचमा नभएकाले निजी एयरलाइन्ससँग पनि सातै दिन हवाई उडानका लागि छलफल प्रारम्भ गरिएको उनले बताए । हवाई यातायातलाई निरन्तरता दिनका लागि सङ्घीय सरकारको पनि ध्यान जान आवश्यक रहेको नगरप्रमुख पन्थीले बताए ।

सङ्घीय सरकारले नीतिगत व्यवस्था गरी ठुला जहाज खरिद गर्दा साना हवाईजहाज पनि खरिद गर्ने नीति ल्याउनुपर्ने भन्दै उनले सरकारले ट्विनअटर जहाज खरिद नगरे पहाडी जिल्लामा करोडौँ खर्चेर निर्माण भएका विमानस्थलहरू बन्द हुने अवस्थामा पुग्ने बताए। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने आएको छ ।