प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच सघन छलफल

२३ बैशाख २०८१, आईतवार १४:४३

काठमाडौं । प्रधानमन्त्री समेत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच सघन छलफल भएको छ।

शनिबार राति तीन नेताबीच समसामयिक राजनीति र बजेट अधिवेशनको विषयमा झण्डै तीन घण्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको अधिवेशन शुक्रबार दिउँसो दुई बजे आह्वान गरेका छन्।

यस अगाडि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएपछि बजेट निर्माणको तयारीका लागि भन्दै सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो। तर, पुनः संसद् अधिवेशन आह्वान भएपछि पनि कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान नछाड्ने बताएको छ ।

उक्त विषयलाई लिएर साथै समसामयिक राजनीति र बजेट अधिवेशनको विषयमा सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको हो।