एमालेले सोडारीलाई विश्वासको मत नदिए के नेकपा एसले सरकार छोड्ला त ?

२३ बैशाख २०८१, आईतवार १३:३३

काठमाडौं। वर्तमान गठबन्धनको आयु सुदूरपश्चिम प्रदेश सरकारले निर्धारण गर्ने अनुमान गरिएको छ ।

नेकपा एसका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिम प्रदेशमा विश्वासको मत जुटाउन सके वर्तमान गठबन्धन कायम रहने नत्र नेकपा एस सरकारबाट बाहिरिने सम्भावनाले गठबन्धनको बारेमा चर्चा चलेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएपछि यो रस्साकस्सी केही दिन चल्ने बताइएको छ ।

शनिबार राति ढिलोसम्म सुदूरपश्चिम प्रदेशका एमाले संसदीय दलका नेता राजेन्द्र रावल सहितका नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले विश्वासको मत लिनका लागि अझै समय बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय सत्ता गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढिरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौँ आएका थिए ।

अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा विश्वासको मत लिनका लागि अझै समय बाँकी रहेकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि हतार नगर्न भनेको संसदीय दलका नेता रावलले बताए ।

शनिबार मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको थियो ।

एमालेले सोडारीबाहेक अरूलाई मुख्यमन्त्री बनाउन भने पनि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयबाटै निर्णय गरेर सुदूरपश्चिममा सोडारीलाई अघि सारेको थियो ।

सुदूरपश्चिममा सोडारीलाई एमालेले विश्वासको मत दिने विषयमा आनाकानी गर्दै आएको छ । सोडारी एमालेका नयाँ निर्वाचित प्रदेश सभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदका समर्थनमा बैशाख ६ गते मुख्यमन्त्री बनेका थिए ।

एमालेले बझाङबाट निर्वाचित सांसदको सपथ नहुँदै विश्वासको मत दिन नसकिने बताए पछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र ओलीबीच तिक्तता बढेका कारण पनि अन्योल उत्पन्न भएको छ ।