आज आइपिएलमा मुम्बई र कोलकाताले प्रतिस्पर्धा गर्दै

२१ बैशाख २०८१, शुक्रबार १२:१२

 

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा शुक्रबार पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी जारी सिजनको बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो मुम्बइ इन्डियन्सको घरेलु मैदान पनि हो । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५१औँ खेल हो । यो खेलमा पराजित भएमा मुम्बई उपाधि होडबाट बाहिरिने छ ।

जारी सिजनको आईपीएलमा कोलकाताले १०औं र मुम्बईले ११औँ खेल खेल्न लागेका हुन् । यो सिजन कोलकाता नाइट राइडर्सले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।

कोलकाताले यसअघि खेलिएका नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने १६ अंकसहित राजस्थान रोयल्स आसिन छ ।

मुम्बईले यसअघि खेलिएको १० मध्ये केवल तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ । तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरु रहेको छ ।

मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले जारी सिजनको आईपीएलमा खेल्न लागेको यो पहिलो खेल हो । यी दुई टोलीबिच हालसम्म आईपीएलमा खेलिएको खेलमा ७२ प्रतिशत नतिजा मुम्बईले आफ्नो पक्षमा पार्दै आएको छ ।

हेड टु हेडमा मुम्बई अगाडि
आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच कुल ३२ खेल खेलिएको छ । त्यसमध्ये २३ खेलमा मुम्बईले कोलकातालाई हराएको छ । बाँकी नौ खेलमा भने कोलकाताले मुम्बईलाई हराएको छ ।

यी दुई टोलीबिच खेलिएका पछिल्ला पाँचमध्ये तीन खेलमा कोलकाताले मुम्बईलाई हराएको छ । तर, वानखेड स्टेडियममा खेलिएका ११ मध्ये केवल दुई खेलमा कोलकाताले जित हात पार्न सकेको छ । यी दुई टोलीबिच पछिल्लो भिडन्त सन् २०२३ मा भएको थियो । त्यो खेलमा मुम्बई पाँच विकेटले विजयी भएको थियो ।

मुम्बईको भर तिलक वर्मा र जसप्रित बुमराहमाथि
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले जारी सिजनको आईपीएलमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । यो सिजन मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान तिलक वर्मा हुन् । उनले १० खेलमा कुल तीन सय ४३ रन बनाएका छन् ।

टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा रोहित शर्मा दोस्रो स्थानमा छन् । पूर्वकप्तान रोहितले हालसम्म १० खेल खेल्दै कुल तीन सय १५ रन बनाएका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् ।

बुमराहले हालसम्म १० खेल खेल्दै १४ विकेट लिइसकेका छन् । बुमराह यो सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा जेराल्ड कुट्जी रहेका छन् । उनले नौ खेलमा १३ विकेट लिएका छन् ।

कोलकाताका लागि सुनिल नारिनको अब्बल प्रदर्शन

इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा कोलकाता नाइट राइडर्सले भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कोलकाताका लागि सुनिल नारिनले अब्बल प्रदर्शन गरेका छन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा छन् ।

सुनिल नारिनले हालसम्म नौ खेल खेल्दै कुल तीन सय ७२ रन बनाएका छन् । कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने फिल साल्ट हुन् । उनले नौ खेल खेल्दै कुल तीन सय ९२ रन बनाइसकेका छन् ।

कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर पनि सुनिल नारिन नै हुन् । उनले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिइसकेका छन् । कोलकाताका लागि हर्षित राणा र वरुण चक्रवर्तीले पनि ११–११ विकेट लिएका छन् ।

छैन वर्षाको सम्भावना
इन्डियन प्रिमियर लिगमा कोलकाता र मुम्बईबिच खेल हुने दिन मुम्बईमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार मुम्बईको तापक्रम औसतमा ३४ डिग्री सेल्सियसको हाराहारीमा रहने बताइएको छ ।

ब्याट्सम्यानलाई साथ दिने पिच
कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबिच खेल हुने मुम्बईस्थित वानखेड स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । यो स्टेडियममा पहिलो पाली ब्याटिङ गर्ने टोलीले औसतमा एक सय ७० रन बनाउने गरेका छन् ।

यो स्टेडियममा मुम्बई इन्डियन्सले आफ्नो पछिल्लो खेल चेन्नई सुपर किङ्ससँग खेलेको थियो । उक्त खेलमा मुम्बई इन्डियन्सविरुद्ध चेन्नईले दुई सय ६ रन बनाएको थियो ।