रेसुङ्गा पावन तपोभूमि र धार्मिक धाम समेत हो: प्रधानमन्त्री प्रचण्ड

२० बैशाख २०८१, बिहीबार १६:१३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज (बिहीबार) सम्बोधन गर्दै उनले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताएका हुन्।

‘यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धाम समेत हो,’ उनले भने, ‘यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।’

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताए ।