चीनमा वर्षाका कारण राजमार्ग भत्किदा ३४ जनाको मृत्यु

२० बैशाख २०८१, बिहीबार १२:१४

काठमाडौं । दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक भाग भत्किएको छ।

सो दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटना मेइझोउ हिल नजिकै आज (बिहीबार) बिहानी पख २ बजे भएको थियो । जसमा सडकको एउटा लेन १८ मिटर तल खसेको थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रू बोकेका २० सवारी साधन तल खसेका थिए ।

घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा खटिएका थिए । सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ । दुर्घटनापछि राजमार्ग अवरूद्ध भएको छ । यो राजमार्गले ग्वाङ्डोङलाई फुजियान प्रान्तसँग जोड्छ।

चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ । र, देशका अधिकांश राजमार्गहरू टोल फ्री छन्। जसका कारण सवारीसाधन बढी दुर्घटनामा परेका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो आँधी शनिबार (अप्रिल २७) दिउँसो ग्वाङडोङमा आएको थियो । यस अवधिमा यहाँ अधिकतम २०.६ मिटर प्रति सेकेन्ड हावाको गति रेकर्ड गरिएको थियो। यसपछि भारी वर्षा भएको थियो ।