झापामा हात्ती पाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थाले

२० बैशाख २०८१, बिहीबार १०:४५

काठमाडौं । झापामा हात्ती पाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थालेका छन् ।

हात्ती पाईले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा पनि झापामा अझै हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।

बिर्तामोड नगरपालिकामा मात्र ४ जना नयाँ हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला परेको पाइएको छ । मङ्गलवार र बुधवार ४ जना नयाँ बिरामी फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिए। मङ्गलवार ३ जना र बुधवार १ जना गरेर ४ जना नयाँ बिरामी फेला परेको उनले बताए ।

केही दिनयता बिर्तामोड नगरपालिकाभित्र हात्तीपाइले रोगको विषयमा जनचेतना सहित आम औषधि सेवन कार्यक्रम सुरु भएपछि नयाँ बिरामीहरू पत्ता लाग्ने क्रम पनि सुरु भएको बताइएको छ । अहिलेसम्म ५ जना नयाँ बिरामीहरू फेला परेको र यसलाई गम्भीर रूपमा लिइएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण १३ औँ अभियान केही दिन अघिदेखि झापामा जारी रहेको छ । वैशाख १६ गते देखि सबै पालिकाहरूमा हात्तीपाइले रोग विरुद्ध आम औषधि खुवाउने सुरु भएको अभियान वैशाख ३० गते सम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।