गठबन्धनले मनमा चैन छैन : माधव कुमार नेपाल

१९ बैशाख २०८१, बुधबार १७:२५

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा खुशी नभएको बताएका छन् ।

चितवनमा पार्टीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको पनि बताए ।

उनले भने, ‘अहिले हामी यो गठबन्धनमा छौँ । अल्ली चैन भइराख्या छैन । मनको चैन भइराख्या छैन । व्यवहारमै होला समस्या । अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन ।’

नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रस्ट्याए । अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए ।

कम्युनिस्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उनले स्विकारे ।