अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको छः अर्थमन्त्री पुन

१९ बैशाख २०८१, बुधबार १६:५८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन्।

विश्व बैंकले चालू आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उल्लेख गरे।

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ। स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन्। तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले भने, ‘विश्व बै।कले ३.३ एडिबीले ३.६ र हिजो मात्रै राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ। यो नौ महिनाका प्रक्षेपण हुन्।

आर्थिक वर्ष अझै तीन महिना बाँकी छ। केही पुँजीगत खर्चहरु हुन्छ। हामीले केही सकारात्मक प्रयत्नहरु गरेका छौं। अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो।’

यद्यपि अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनको भनाइ थियो। मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए।