आफ्नै पार्टीका मतदाताले एमालेलाई भोट दिदाँ उम्मेदवारको जमानत जफत भयोः झलनाथ खनाल

१९ बैशाख २०८१, बुधबार १३:२९

काठमाडौँ । इलाम–२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट दिएको नेकपा (एस) पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

उनले आफ्नै पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट दिएको कारण उम्मेदवारको जमानत जफत भएको र इलाममा पार्टीको शक्ति क्रान्तिकारी ढङ्गले परिचालित गर्न नसक्दा सोचेजति मत नआएको समेत बताएका हुुन् ।

नेता खनालले भने, ‘इलामममा हाम्रो पार्टीको शक्ति नभएको होइन । तर त्यो शक्ति क्रान्तिकारी ढङ्गले परिचालित नै हुन सकेन आफ्नो शक्ति हुँदाहुँदै पनि अन्ततः साथीहरूले वामपन्थी एकताका नाममा तलैतलैबाट एमाले उम्मेदवारलाई मतदान गरे, यसले गर्दा हाम्रो स्थिति कमजोर देखियो ।’

एकीकृत समाजवादीले क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर जनतामा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान नसक्नु आफूहरूको कमजोरी भएको खनालको ठहर छ । ‘हाम्रो पार्टी क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर अघि बढ्नुपर्ने थियो । यो विचार र कार्यक्रम लिएर जनताकाबीचमा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान सकिएन’, नेता खनालले भने, ‘तर ती कुराहरू राम्रो ढङ्गले अघि बढाउन नसक्दा पार्टीप्रतिको आकर्षण कमजोर हुँदै गएको पाइयो ।’

इलाम – मा नेता खनाल चुनावी कमान्डरका रूपमा खटिएका थिए । इलाम नेता खनालको गृहजिल्ला समेत हो । निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले भने ४०८ मत मात्र प्राप्त गरेका थिए ।