वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो टी–२० क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको कप्तानी

१९ बैशाख २०८१, बुधबार १२:२६

काठमाण्डौं । वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो टी–२० क्रिकेटमा नेपालले टस हारे बलिङ गर्दै छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज ‘ए’ का कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले अहिले बलिङ गरिरहेको छ । आजको खेलमा नेपालबाट दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेका छन् ।

पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपाल र वेस्ट इन्डिज ‘ए’ ले समान एक खेल जितेका छन् । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।