बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न रविलाई सीके राउतको सुझाव

१८ बैशाख २०८१, मंगलवार १३:०५

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको परिणामबारे राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले सुझाव दिएका छन् ।

अध्यक्ष राउतले मंगलबार सामाजिक सञ्जालमार्फत मिसन ८४ को कुरा गरिरहेको रास्वपालाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो– मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुईतिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’

उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् ।