काठमाडौं । नेपालबाट ओट घाँस र जनावरको दाना तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले खरिद गर्ने भएको छ ।
सोमवार (हिजो) काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको हो ।
नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो ।
नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासको लागि उपयुक्त मानिन्छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ । जुन याक जस्ता पशुका लागि महत्वपूर्ण मानिन्छ ।
तिब्बतमा ओट ग्रासको ठूलो माग छ । आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो ।
