इलाम–२ मा सुहाङ नेम्वाङ ५ हजार मतान्तरले अग्रस्थानमा

१७ बैशाख २०८१, सोमबार १६:२८

काठमाण्डौ । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार मतान्तरले अग्रस्थानमा रहेका छन् ।

३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका उम्मेदवार नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गरेका छन्।

गत शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। एमालेका नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि अहिले उपचुनाव भएको हो ।