रवि लामिछानेमाथि छानबिन नभए बर्खे बजेट अधिवेशन कांग्रेसले चल्न नदिने

१४ बैशाख २०८१, शुक्रबार १६:१५

काठमाडौं । नेपाली कांग्रेसका सचेतक रमेश लेखकले गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन नभए बजेट अधिवेशन नचल्ने बताएका छन् ।

नेपाली कांग्रेसको निरन्तर विरोधका बाबजुद पनि वैशाख २ गते सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको छ । अब बजेटमाथिको छलफलका लागि चाँडै बर्खे अधिवेशन गर्ने तयारीमा सरकारको रहेकोे छ । अब आउने अधिवेशनमा गृहमन्त्री लामिछानेमाथिको छानविन नभए अधिवेशन चल्न नदिने कांग्रेसका सचेतक रमेश लेखकले बताएका छन् ।

उनी भन्छन्, ‘सरकारले छानबिन समिति बनाएन भने हाउस चल्दैन । हेरौं न त, कसरी अध्यादेशबाट बजेट आउने रहेछ ।’ सरकारले हिउँदे अधिवेशन अन्त्य गरेर सरकार अत्यन्त्य गैरजिम्मेवारपूर्ण काम गरेको उनले बताएका छन् । उक्त विषयमा संसदीय दलको बैठकमा पनि कुरा उठाएको उनले बताए ।

सरकारले आफैं महत्त्वपूर्ण विधेयकहरू विचाराधीन भएको र लगानी सम्मेलन समेतलाई सम्बोधन गर्ने गरेर महत्त्वपूर्ण कानुन संशोधन गर्नुपर्ने बताएको तर प्रतिपक्षीले उठाएका कुरामा सरकार जिम्मेवार नभएको उनले उल्लेख गरे।