नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

१४ बैशाख २०८१, शुक्रबार १५:३८

काठमाडौ । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा (शुक्रबार) आज आयोजित एक समारोहबीच अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका हुन्।

उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायता सम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशोधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

सम्झौताअनुसार चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।

उक्त समारोहमा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकाङ्क्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे । उनले राष्ट्रपति सी जिन फिङले पाँच वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्याएको बताए ।