डोल्पामा आगो निभाउन गएका तीन सैनिकको मृत्यु

२९ चैत्र २०८०, बिहीबार १५:३०

काठमाडौं। डोल्पामा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको मृत्यु भएको छ । घाइते भएका उनीहरुको उपचारको क्रमा मृत्यु भएको हो । एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो।

मृत्यु हुनेहरुमा नेपाली सेनाका जम्दार केशव जर्घामगर र जवानहरू आशिष बुढा र हेमन्त रावत रहेका छन्। आगो लागिरहेको ठाउँदेखि करिब २ सय मिटर दुरीमा रहेको सदरमुकाम सुरक्षा गुल्मबाट खटिएका उनीहरू रुखमा लागिरहेको आगोको ट्र्यापमा परेका थिए।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीले जलिरहेको रुख ढलेर तल पुगेपछि आगो सल्किएर अगाडि आउँदा सैनिकहरू ट्र्यापमा परेको बताए।आगो नाघेर जान सक्ने अवस्था नभएको र त्यहाँ ५/६ सय मिटर अग्लो भिर अगाडि पहरा भएकाले त्यहाँ सजिले जान नसकिएको उनले बताए ।

केसीका अनुसार चैत २४ गते १२ बजेर १० मिनेटमा ठुली भेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा आगो लाग्न थालेको थियो।

उनले भने ‘पहिलो दिन हामीले साँझसम्म लगाएर भुईँतिरको आगो निभाएका थियौँ। रुखमा बलिरहेको आगो भने निभाउन सकिएको थिएन। केही रुखहरूमा आगो रातभरि नै बलिरह्यो। भोलिपल्ट बिहान १० बजेतिर अलिक बढी बलिरहेको रुखको आगो निभाउन सैनिकहरू खटिइरहनु भएको थियो। हामी पुलिस र सशस्त्र २०/३० फिट टाढा रहेर अन्य रुखमा लागिरहेका आगो निभाइरहेका थियौँ ।’