उत्तरी धादिङमा चार दशकपछि पक्की पुल निर्माण,स्थानीयमा हर्ष उल्लास

२९ चैत्र २०८०, बिहीबार १०:२८

काठमाडौं । धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माणको काम सकिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पक्की पुल निर्माण गरिएको हो ।

उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्य मार्ग भएकोले पुल निर्माण गर्न चासो दिएर लागेको धादिङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका सांसद रामनाथ अधिकारीले बताएका छन्।

उनका अनुसार पुल निर्माण नेपाली सेनाको सहयोगबाट सम्भव भएको र जसको कारण त्यहाँको मानिसलाई आवतजावत गर्न र आर्थिक विकासको लागि निकै टेवा पुगेको छ ।

किन्ताङ फेदीमा पुल नहुँदा बर्षायामको पाँच महिना सवारी आवतजावत पूर्ण रूपमा बन्द हुने गर्दथ्यो । उत्तरी धादिङको रुवीभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डवजोङ गाउँपालिकालाई जोड्ने १४० फिट लम्बाई, ४.२ मिटर चौडाइको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए।

ट्र्याक खोलिएको करिब चार दशकपछि किन्ताङ खोलामा चाइनिज ब्रिज हाल्ने काम भएपछि धादिङको उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् ।

पुल बनेपछि उत्तरी धादिङवासीको जीवन फेरिने खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ बताए । उत्तरी धादिङको जीवनस्तरमा सुधार ल्याउन पुल निर्माणका लागि २५ लाख आर्थिक सहयोग गरेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले जानकारी गराए ।

पुल नहुँदा आपतकालिन समयमा ठुलो समस्या व्यहोर्नु परेको रिजालको भनाइ छ । पुल बनेपछि उत्तरी धादिङको जनताको मुक्तिको दिन सुरु हुने खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको भनाइ छ । जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने हुँदा जीवनस्तरमा पनि सुधार हुने उनले बताए ।

किन्ताङ फेदीमा बन्दै गरेको चाइनिज ब्रिजको दुवै भागमा फुटपाथ रहने गरी पुल निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री ए र थ्री बि को स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो ।