ताप्लेजुङमा १७८ जना विद्यार्थी मध्य पाँच जना मात्र उत्तीर्ण, पुनः मौका परीक्षा सञ्चालन हुदै

२६ चैत्र २०८०, सोमबार १२:३२

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण भएका छन् ।

गाउँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये पाँचजना मात्र उत्तीर्ण भएका हुन् । उक्त गाउँपालिकामा यो वर्ष कक्षा ८ को परीक्षा केन्द्रीकृत रुपमा सञ्चालन गरिएको थियो ।

सामुदायिक विद्यालयअन्तर्गत कक्षा ८ सञ्चालित गाउँपालिकाका आठ वटा विद्यालयबाट १७८ जना विद्यार्थी यसवर्षको वार्षिक परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी भएका विद्यार्थी सङ्ख्यामध्ये पाँच जनाले मात्र उत्तीर्ण गरेका गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।

अध्यक्षका अनुसार गाउँपालिका बाहिरका शिक्षक अर्थात् विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्रहरु तयार पारेर कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरिएको थियो । विद्यार्थीले लेखेको उत्तरपुस्तिका पनि पालिका बाहिरकै शिक्षकबाट मूल्याङ्कन गराउँदा पाँच जनाले मात्र सबै विषय उत्तीर्ण गरेको पाइएको उनले जानकारी दिए।

आठ मध्ये चारवटा विद्यालयबाट एक जना पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिए।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता तामाङका अनुसार नतिजा शून्य आएको चारमध्ये दुईवटा विद्यालयका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा लेख्ने मौका पनि नपाउने भएका छन् ।

कक्षा ८ को नतिजा प्रकाशित गर्नुअघि आइतबार पालिकास्तरीय परीक्षा समितिको बैठक बसी नतिजाको विश्लेषण गरिएको गाउँपालिकाले जनाएको छ । समितिको बैठकले दुई विषयसम्ममा नन्ग्रेड अङ्क ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय भएको छ । ग्रेडवृद्धिको मौका परीक्षा आउँदो बैशाख १० गतेदेखि सञ्चालन हुने पनि गाउँपालिकाले जनाएको छ ।