रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन: उपसभापति वाग्ले

१४ चैत्र २०८०, बुधबार १३:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुविधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताए ।

उनले भने, ‘नीति र विचारका कुराहरु महत्वपूर्ण छ । जलेश्वर बैठकअगाडि हामीमाथि आलोचना हुने गर्दथ्यो । विचार नभएको, दर्शन नभएको र पिपलपाते पार्टी भन्ने गरिन्थ्यो । यता जनमत आयो भने यतातिर ढल्कने, होईन भने उतै ढल्कने भनिएको थियो । जलेश्वर बैठकको प्रस्ताव तयार गरिसकेपछि कसैले अब रास्वपाको कित्ता कता हो भनेर कुनै दुबिधा रहने छैन् । हामीभन्दा स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा छैन जस्तो लाग्छ ।’

यस्तै, उनले बैठकपछि नेतृत्व र संगठनको बारेमा कसैले चुनौती दिन नसक्ने आधार तयार भएको भन्दै त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘आर्थिक, सामाजिक मोडेलको विषय र त्योसँग राजनीतिक दर्शन पनि अन्तरनीहित भएर आएको छ ।

राजतन्त्र र गणतन्त्रको विषयमा, संवैधानिक समाजवादको विषयमा एउटा बहुलवादी लोकतन्त्रवादी संस्थाको विषयमा स्पष्टताका साथ हामी बोलेका छौ । संविधानभित्र नै रहेर बोलेका छौ र सुधार गर्ने भनेका छौ । त्यसमा टेकेर अगाडि बढ्ने छौ ।’