कर्णाली पुलबाट हामफालेका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता

१३ चैत्र २०८०, मंगलवार १३:०३

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार (हिजो) १७ जना युवाले हाम फालेका छन् ।

लम्कीचुहा नगरपालिका ३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे पुलबाट हामफालेर नुहाउन पुलबाट हाम फालेको हुनसक्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेरगरी गएको प्रहरी स्रोतले जनाएको छ । एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन् । भिडियोमा १७ जना युवाले हाम फालेको देख्न सकिन्छ ती मध्ये १६ जना पौडिएर निस्केको एकजना डुबेका छन्।

जनपद प्रहरी र सशस्त्र प्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाउँदै मङ्गलबार गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।