अछाम। अछामको मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
सोमबार (आज) बिहान मेल्लेख गाउँपालिका–७ सुयडमा भएको ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी छन् ।
यस्तै, घाइते हुनेमा सोही वडाका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी छन् भने घाइते भएका एक जना बालकको विवरण हालसम्म खुलेको छैन । घाइते तीन जनाको उपचारका लागि जिल्लाको बयलपाटा अस्पताल पठाइएको अछाम प्रहरीका निरीक्षक अर्जुन साउदले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश ००१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको र कारण खोजी भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका व्यत्तिहरु साँफे बगरमेल्लेख सडक खण्डका कामदारहरु रहेको बताइएको छ ।
