‘बलिदान’ फस्टलुकमा विराज पुत्र समीर

९ चैत्र २०८०, शुक्रबार १३:२३

काठमाडौं । निर्माणाधिन फिल्म ‘बलिदान’को निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको छ । फस्टलुकमा अभिनेता विराज भट्ट पुत्र समीर भट्टलाई देख्न सकिन्छ ।

आशुसेन फिल्मस्ले निर्माण गरिरहेको यही फिल्ममार्फत समीरले नेपाली रजतपटमा ‘डेब्यू’गर्दैछन् । समीर लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू सिकिरहेका थिए । निर्माता तथा निर्देशक सन्तोष सेनले समीरलाई निकै लामो समयको मेहनत पछि फिल्ममा अनुबन्ध गरिएको बताए ।

‘बलिदानको कथामा एक पात्रका रूपमा युग पुरुषलाई छान्न कठिन प्रयास गरेका थियौँ । त्यो युगपुरुषले परिवर्तनका नाममा जनतालाई बलिचढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गर्न सकोस्’, सन्तोषले भने, ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो । बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुर्ण कलाकार चाहिने थियो।’

निर्देशक सेनले फिल्मले देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको चित्रण गर्ने बताए । आसुसेन फिल्मस् प्रालि र सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवनब्राडफोर्ड बिस्ट तथा सह–निर्मातामा प्रेम पुरी रहेका छन् ।