सार्वजनिक प्रशासन शैलीका कारण जनतामा निराशा छाएको छ : अर्थमन्त्री पुन

४ चैत्र २०८०, आईतवार १०:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए ।

आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन,राजनीति,अर्थतन्त्रका क्षेत्र,बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको बताए ।

‘राजनीतिक नेतृत्वमा समस्या छन्,शुद्धीकरणको आवश्यकता हामी आफैंले महशुस गर्दै आएका छौँ । यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन, राजनीतिक र प्रशासनिक शुद्धीकरण जरुरी छ,’ मन्त्री पुनले अघि भने, ‘३४ वर्ष अगाडि स्थापना भएको यही संस्थाको आज औचित्य सान्दर्भिक छकि छैन? राज्यले जम्मा गरेका लगानीकर्ता,प्रवर्तक र सञ्चालकहरु जम्मा भएर आजको बजार माग अनुसार हामी प्रतिस्पर्धा गर्न सक्छौं कि सक्दैनौँ ? समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ ।’

मन्त्री पुनले देशका केही क्षेत्रमा सुधार र निकै राम्रो प्रगति भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आएको बताए । उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रसाशन र व्युरोकेसीसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुरसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औंल्याए । उनले नागरिक लगानी कोषले पनि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने समय आएको उल्लेख गरे ।

व्यक्ति,संस्था,प्रशासन,नेतृत्व,राज्य संयन्त्रमाथि प्रश्न उठेपछि जवाफदेही बन्नुपर्ने उल्लेख गरेका उनले प्रश्न उठ्दैमा डराउन नहुने तर सकारात्मक रुपमा अगाडि बढ्न प्रश्नबाटै प्रेरित हुनुपर्नेमा उनको जोड छ ।

‘राजनीतिमाथि प्रश्न, निजी क्षेत्र,बैंक तथा वित्तीय संस्था, लघुवित्तमाथि प्रश्न,व्यवसायी, मिडिया,सहकारी,सबै सार्वजनिक संस्था,न्यायालयमाथि प्रश्न उठेको छ । यहाँहरु जो जहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ सबैले कानून भन्दा माथि म छु भन्ने सोच्नु हुँदैन,यो कुरा हामी सबैले ख्याल गर्नुपर्छ,’ पुनले भने ।