नेपालले पपुवा न्युगिनीलाई हराउँदै फाइनलमा

२९ फाल्गुन २०८०, मंगलवार १०:१५

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक–एक विकेट लिए ।

त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए ।

सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए । टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक थियो ।

नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र एक छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट भएका थिए । यस्तै गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट भए ।

पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए । पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ । आज विजेता हुने विजेताले बुधबार (भोलि) नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।