माधव नेपाल एमालेमा फर्कने तयारीमा

२८ फाल्गुन २०८०, सोमबार १०:४०

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई एकीकरण गरेर नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल बन्ने प्रयासमा रहेको छ । नेकपा एमाले र नेकपा (एस) बीच एकता गरेर संसदमा ठूलो दल हुने प्रयासमा रहेको एमाले स्रोतले जनाएको छ ।

संसदमा नेकपा एससँग रहेको १० सिट एमालेमा समाहित भए मुलुकको सबैभन्दा ठूला पार्टी हुने त्यसका लागि एमालेका नेताहरूले गोप्य रुपमै पहल गरेका छन् । एमाले अध्यक्षले नेताहरूलाई एसमा संगठित रहेका करिब २५ हजार कार्यकर्तालाई व्यवस्थापन गर्ने गरी खाका तयार पार्न निर्देशन समेत दिएको स्रोतको दावी छ ।

पार्टी केन्द्रदेखि जिल्ला कमिटीसम्मका नेताहरूलाई एकिकरण प्रकृयामा ल्याउने पर्ने भएकाले त्यही अनुसार खाका तयार पार्नुपर्ने एमालेको निष्कर्ष रहेको छ र पार्टी एकीकरणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक बनेको स्रोतको दावी छ । ओली मात्र होइन नेकपा एसका नेताहरु पनि सकारात्मक बनेका छन् ।

एस पार्टीमा रहेका तल्लो तहका नेता कार्यकर्ताहरू एमालेमा फर्कन थालेपछि माथिल्लो तहका नेताहरूले पार्टीलाई मिलाउने प्रयास गरिरहेको स्रोतको दावी छ । ‘ नेकपा एसलाई तल्लो तहका कार्यकर्ताहरूले एकताका लागि पहल गर्न नेतृत्वलाई दबाब दिएका छन् , एकाध चरणमा यो विषयमा कुराकानी भएको छ’, नेकपा एसका एक नेताले भने ‘त्यसका लागि एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसँग बसेर पहल गरे यसको समाधान निस्कन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली पनि माधव कुमार नेपालसँग सम्बन्ध सुधारमै रहेका छन् । एमाले अध्यक्ष ओली र नेपालबीच शनिवार मात्रै करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’को एकल भेटघाट भएको थियो ।

नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो । तर यो भेटघाटलाई गोप्य राखिएको छ । शनिवार नै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटघाट गरेका थिए । प्रचण्डलाई भेटेपछि ओली सिधै माधव नेपाललाई भेट्न बबरमहलस्थित एक होटलमा पुगेका थिए ।