संकटमा वैद्यखानाः औषधि उत्पादन र व्यापार दुवै घट्यो

१७ फाल्गुन २०८०, बिहीबार ११:०२

काठमाडौं । देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखानाउत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो । तर अहिले औषधि उत्पादन र व्यापार दुवै घटेको छ ।
एलोपेथिक उपचार प्रणालीको प्रभाव बढेको र आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको घट्दो विश्वासका कारण वैद्यखानाको व्यवस्थापनमा सरकारले पनि चासो दिएको छैन । बरू राजनीतिक हस्तक्षेपका कारण वैद्यखाना थप संकटउन्मुख भएको छ ।
वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा वैद्यखाना नै संकटतर्फ धकेलिएको वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए ।
‘मन्त्रालयबाट कार्यकारी निर्देशकहरु परिवर्तन भइराख्ने भयो । जसले गर्दा वैद्यखानाले स्थायित्व पाउन सकेन,’ उनले नेपाल न्यूज बैंकसँग भने, ‘त्यसको प्रत्यक्ष असर यसको उत्पादन र व्यापारमा परेको छ । पछिल्लो समयमा आयुर्वेद औषधि उत्पादन र व्यापार दुवै घटेको छ ।’
उनका अनुसार वैद्यखानाले आर्थिक वर्ष २०७४÷०७५ मा ५ करोड ३४ लाख रुपैयाँको औषधि बिक्री गरेको थियो । तर पाँच वर्षपछि आर्थिक वर्ष २०७९÷०८० मा १ करोड २७ लाख रुपैयाँको व्यापार गरेको छ । यसरी हेर्दा पाँच वर्षमा वैद्यखानाको व्यापार करिब तेब्बरले घटेको छ ।
वैद्यखानाले आर्थिक वर्ष २०७६÷०७७मा २ करोड १७ लाख, २०७७÷०७८ मा २ करोड ६८ लाख, ०७८÷०७९ मा १ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको थियो ।
वैद्यखानाको व्यापार घटेपछि औषधि उत्पादन पनि घटेको छ भने अहिले त कर्मचारीहरुले तलब खान समेत धौधौ पर्ने अवस्था बनेको छ ।
वरिष्ठ मार्केटिङ अधिकृत रेग्मीले भने, ‘सरकारले सहयोग गर्न छोड्यो । यहाँ कार्यकारी निर्देशक नियुक्त भएर काम गर्ने योजना बनाउन नपाउँदै फेरबदल भइहाल्छ । जसले गर्दा यो उद्योग नै संकटमा पुगेको छ ।’
उनका अनुसार पहिले वैद्यखानाले एक सय भन्दा बढी प्रकारका औषधिहरु उत्पादन गर्ने गरेको थियो । तर अहिले भने कर्मचारीहरुलाई पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मा जानुपर्छ ।तर चार शताब्दीको लामो इतिहास बोकेको यो वैद्यखानामा औषधि उत्पादन गर्ने उपकरणहरु भने पुराना प्रयोग हुने गरेका छन् ।
औषधि उत्पादन गर्न आवश्यक बजेटकै अभाव रहेको उनले बताए ।
‘सरकारले बजेट दिदैन, यहाँ उत्पादन घटेको छ, व्यापार पनि घटेको छ,’ उनले भने, ‘यहाँ सरकारकातर्फबाट तीन जनामात्रै कर्मचारी हुनुुहुन्छ । बाँकी समितिका तर्फबाट ४१ जना छौँ । अहिले त तलब खाने पैसाको समेत अभाव हुने स्थिति बनेको छ ।’
उनका अनुसार केही महिनादेखि वैद्यखानाले फिक्स डिपोजिटको पैसा झिकेर तलब खुवाइरहेको छ ।

औषधि बनाउने उपकरणहरु पुराना भएका छन् भने कच्चा पदार्थ खरिद गर्न बजेटको समस्या छ । दुवैको व्यवस्थापन गर्न समिति आफैँले मात्रै सक्ने अवस्था छैन ।
वैद्यखानालाई सरकारले आवश्यक बजेट सहयोग गरेमा पुरानै अवस्थामा फर्काउन सकिने उनको भनाइ छ । ‘सरकारले उपकरण खरिद र व्यवस्थापनमा सहयोग गरिदिने हो भने हामीले पाँच वर्षमा फेरि पहिलेकै अवस्थामा फर्काउन सक्छौँ,’ उनले भने ।