भारतीय स्कारपियोको ठक्करबाट दुई युवकको मृत्यु

१५ फाल्गुन २०८०, मंगलवार ११:०७

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, मा सोमबार राति भारतीय स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

डिएसपी थारुका अनुसार राति ८ः२५ बजेतिर पूर्व पश्चिम हुलाकी सडकस्थित कौडेना गाउँपालिका ३ स्थित कौडेना र मुसैलीको बिच भागमा मलङ्गवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्कारपियोका चालक भने फरार भएका र उनको खोजी भइरहेको डिएसपी थारुले बताए। सर्लाहीमा पछिल्लो समय भर्खरै कालोपत्रे भएको हुलाकी सडकमा दैनिक जसो सवारी दुर्घटना भइरहेका छन् ।

धेरैजसो मोटरसाइकल दुर्घटनामा परिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अधिकांश दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भइरहेको पाइएको प्रहरीले बताएको छ ।