आज देशभरको मौसम के कस्तो छ ? थाहा पाउनुहोस्

११ फाल्गुन २०८०, शुक्रबार ०८:१७

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पनि आंशिक बदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

शुक्रबार दिउँसो कोशी,गण्डकी,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।