‘फिल्म कर्मीलाई सेल्फ सेन्सर सिपको अधिकार दिनुपर्छ’

७ फाल्गुन २०८०, सोमबार १३:०९

हेटौडा । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले चलचित्र सेन्सर बोर्डको नाम परिवर्तन गरेर ‘प्रमाणिकरण बोर्ड’ राख्नुपर्ने बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा भइरहेको प्रथम राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशालामा सोमबार उनले यो कुरा बताएकाहुन् ।

‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ विषयको अन्तरसंवादमा उनले सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने बताए । ‘सेन्सर बोर्डलाई या त बोडकै अधिनमा ल्याउनु पर्यो, या त संसर बोर्डलाई सूचना तथा सञ्चार मन्त्रालय भन्दा बाहिर निकाल्नुपर्यो’, उनले भने, ‘सेन्सर बोर्डको नाम प्रमाणिकरण बोर्ड राखौं । अनि ग्रेडिङको पनिकाम गरौं ।’

फिल्म निर्देशक मनोज पण्डितले राज्यको दायित्व जनता र दर्शकसँग हुनुपर्ने बताए । ‘राज्यको दायित्व फिल्म कर्मीलाई प्रोत्साहन गर्ने हो, लठ्ठी बोकेर थर्काउने होइन,’ सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्य विधिप्रति लक्षितगर्दै उनले भने, ‘यो विधिप्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सर सिपको अधिकार दिनुपर्छ ।’

बोर्डका सदस्य रवि अधिकारीले विकास बोर्डले सेन्सरका लागि सिफारिस दिने गरे पनि सेन्सर पछि त्यसको गाली बोर्डले खाने गरेको स्मरण गरे । उनले सेन्सर बोर्डका सदस्यलाई तीन देखि पाँचवर्षसम्म तालिम लिएर योग्य बनाई बोर्डमा नियुक्ति दिनुपर्ने बताए ।

सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले २०२६ सालमा बनेको ऐनमा टेकेर चलचित्र हिडिँ रहेकाले त्यसैमा रहेर नयाँ बुँदा थपिएको भन्दै सेन्सर बोर्डको बचाउ गरे । उनले अहिलेको अवस्थामा बनाइएका बुँदालाई परिवर्तन गर्न नसकिने बताए ।