तनहुँमा जन्ती बोकेको बोलेरो जीप दुर्घटना, दुई जनाको मृत्यु

७ फाल्गुन २०८०, सोमबार ११:२४

तनहुँ  । तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चालकसहित १६ जना घाइते भएका छन्।

आबुखैरेनी गाउँपालिका १ गिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा दुर्घटना हुँदा आबुखैरेनी गाउँपालिका ६ का ७२ वर्षीय आसबिर गुरुङ र ब्यास नगरपालिका ९ का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

उनका अनुसार गएराति साढे १२ बजे आबुखैरेनी गाउँपालिका १, गिराउनचौरस्थित बरादी हिलेखर्कस्थित भित्री सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिई जाँदै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जिप अनिन्त्रित भइ सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा ७२ वर्षीय आसबिर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै तुलसी गुरुङको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते १६ जनाको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाँणले बताएका छन् । प्रहरीका अनुसार दुर्घटनामा आबुखैरेनी ६ का सुविना गुरुङ, मनबहादुर गुरुङ, सुकमाया गुरुङ, एलिसा गुरुङ, सबिता गुरुङ, आबुखैरनी ३ का सिसिर गुरुङ घाइते भएका छन्। उनीहरूको आबुखैरेनीस्थित अस्पतालमै उपचार भइरहेको छ।

त्यस्तै सोही गाउँका चालक ३८ वर्षीय राजकुमार विश्वकर्मासहित आबुखैरेनी ६ कै सोमलाल गुरुङ, भक्कुलाल गुरुङ, सेरबहादुर गुरुङ, आसमाया गुरुङ, दीक्षा गुरुङ, सेते गुरुङ, चिजकुमारी गुरुङ, वडा नं. १० का सुसान गुरुङ र वडा नं. ६ का सुनिता गुरुङ घाइते छन्।

उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्‍याइएको छ।