लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? : बालेन

२२ माघ २०८०, सोमबार ०९:२८

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरभित्रका सार्वजनिक सम्पत्ति कसैको निजी स्वार्थका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्।

प्रमुख शाहले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिबद्धता जनाएका छन्। धरहरामा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदैछ, पार्किङ बन्द गर्नू’ भन्ने खुलापत्र लेखिएपछि बालेनले सार्वजनिक सम्पत्ति निजी स्वार्थका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन्।

बालेनले उद्घाटन गरेको २ वर्षभन्दा बढी समय भइसक्दा पनि पत्र लेख्नुको औचित्य के हो भनी प्रश्नसमेत गरेका छन्।

उनले तोकिएको समयमा निर्माण नहुने अनि हतारमा निर्माण भइ उद्घाटन हुने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि अनुरोध गरेका छन्।

बालेनले धरहरामा पार्किङ बन्द नहुने र पार्किङलाई अझै व्यवस्थापन गर्दै लैजाने पनि उल्लेख गरेका छन्। उनले पार्किङको ठेक्का लिएर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको पनि बताए।

प्रमुख बालेन्द्र  शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै “२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट  सेतो टावर  उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ।तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु । उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ । तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ । सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ । अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।”